Skip to content Skip to left sidebar Skip to footer

परिच्छेद –२७ पशुपक्षी सम्बन्धी कसूर

२८९. गाई, गोरु मार्न वा कुट्न नहुनेः (१) कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुनेछ ।

(३) कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै गाई वा गोरुले आप्mनो वा अरुको जिउ वा ज्यानमा पु¥याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन ।

२९०. पशुपक्षी प्रति निर्दयी व्यवहार गर्न नहुनेः (१) कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आपूmले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न हुँदैन ।

तर पशुपक्षीलाई कुनै काम गर्न सिकाउने, तालिम दिने, त्यसलाई आफ्नो कामप्रति निपुण बनाउने उद्देश्यले न्यूनतम बल प्रयोग गरी कुनै काम गर्न वा पशुपक्षीलाई त्यसको शारीरिक क्षमता अनुसार कुनै भारी बोकाउन वा दौडाउन बाधा पर्ने छैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

२९१. सार्वजानिक स्थलमा पशु वा पक्षी मार्न नहुनेः (१) यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैले पनि कुनै पशु वा पक्षीलाई परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मार्नु हुँदैन ।

तर परम्परादेखि नै पशु वा पक्षीको बध गर्न चली आएको मेला, जात्रा, हाट वा महोत्सव वा स्थानमा पशु वा पक्षी मार्न वाधा पर्ने छैन ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सार्वजनिक स्थल” भन्नाले बाटो, सडक, पुल, चौर वा मानिस आवत जावत गर्ने ठाउँ सम्झनु पर्छ ।

(२) उपदफा (१) बमोजिम बली दिनुपर्दा परम्परादेखि बली दिदै आएको धार्मिकस्थल बाहेक अन्य सार्वजनिक वा धार्मिकस्थलमा पशु वा पक्षीको बली दिन सकिने छैन ।

(३) उपदफा (१) बमोजिम पशु वा पछीको बली दिनुपर्दा पशु वा पक्षीको बलीको विकल्पमा हुन सक्ने अन्य उपाय भएमा त्यस्तो उपाय अवलम्बन गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिमको उपाय अपनाउन सम्भव नभई पशु वा पक्षीको बली दिनु परेमा त्यस प्रयोजनका लागि सम्बन्धित धार्मिक स्थलका व्यवस्थापकले निर्धारण गरेको ठाँउमा र निर्धारण गरेको विधि बमोजिम बली दिने काम गर्नु पर्नेछ ।

(५) यस दफा बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

२९२. हदम्यादः दफा २९० अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।